
काठमाडौं, असार ८ गते ।
मनास्लु ब्वाइज र वारियर्स गल्र्स टिमले प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा दुबै टिमले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेका हुन् ।
मनमैजुस्थित आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को प्राङ्गणमा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ को अन्तरले पराजित गर्यो । गल्र्स तर्फ वारियर्सले एनसीसीएसलाई १९–१६ ले हराउँदै उपाधि उचालेको हो ।

प्रतियोगितामा मनास्लु टिमका अविश्न चालिसे ब्वाइजतर्फ तथा वारियर्सकी प्रकृति खड्का गल्र्सतर्फ ‘मोस्ट भेलुएबल प्लेयर (एमभीपी)’ घोषित भए ।
दुवै समूहका विजेता टिमले नगद ८ हजार र उपविजेता टिमले ५ हजार रुपैयाँ प्राप्त गरे । साथै, विजेता टिमका प्रत्येक खेलाडीलाई प्लस २ अध्ययनको लागि ७० प्रतिशत छात्रवृत्ति र उपविजेता टिमका खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए ।
पुरस्कार वितरण समारोहमा तार्केश्वर नगरपालिका वडा नं. १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल तथा तार्केश्वर नगर प्याब्सन अध्यक्ष गोपाल बुढाथोकी लगायतले विजयी खेलाडीलाई सम्मान गरेका थिए ।
दुई दिनसम्म चलेको प्रतियोगितामा ब्वाइज समूहमा १२ टिम र गल्र्स समूहमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।





