प्रशासन तथा लेखा सम्बन्धी तालिम सम्पन्न, सहभागीलाई ज्ञान व्यवहारमा उतार्न जोड



काठमाडौं, असार ८ गते।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालित प्रशासन तथा लेखा सम्बन्धी दुईदिने तालिम आइतबार बूढानीलकण्ठमा सम्पन्न भएको छ। तालिममा विभिन्न जिल्लाबाट आएका ५४ जना कर्मचारीहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहभागी प्रशिक्षार्थी र तालिम सञ्चालनमा संलग्न प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूलाई मायाको चिनो प्रदान गरे। उनले तालिमलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा देशका विभिन्न जिल्लाका कर्मचारीलाई समेटेर व्यापक रूपमा आयोजना गरिने जानकारी पनि दिए।

सदस्य–सचिव घिसिङले सहभागीहरूलाई प्राप्त ज्ञानलाई आफ्ना कार्यक्षेत्रमा व्यवहारमा उतार्न विशेष आग्रह गरे। उनका अनुसार यस्ता तालिमहरूबाट प्राप्त अनुभव र सीपले सरकारी सेवा प्रणाली अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

तालिमको अन्तिम दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक विष्णुहरि वाग्लेले लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग विषयमा जानकारी गराएका थिए। पहिलो दिन विभिन्न शीर्षकमा अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए।

त्यसक्रममा सहसचिव सुवासचन्द्र सिवाकोटीले योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रियाबारे, उप–सचिव जगदीश पराजुलीले वित्तीय व्यवस्थापन र भ्रष्टाचार नियन्त्रणबारे प्रशिक्षण दिए। त्यस्तै, महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक शंकरप्रसाद पन्थी र निर्देशक केदारप्रसाद खकुरेलले आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, बेरुजु र फछ्र्यौटका विषयमा विस्तृत जानकारी गराए। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले भने पाम्स प्रणालीका विविध पक्षबारे प्रशिक्षण दिए।

तालिमको समापनले सहभागीहरूमा व्यावसायिक दक्षता अभिवृद्धि भएको विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्