हिमालयन जाभा बास्केटबल लिगको उपाधि टाइम्सलाई




काठमाडौं, असार ७ ।

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) २०८२ को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ ।

शनिबार नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा सम्पन्न फाइनल खेलमा टाइम्सले गोल्डेनगेट क्लबलाई ८०–७२ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलको शुरुआतदेखि नै टाइम्सले आक्रामक खेल प्रदर्शन गर्दै पहिलो क्वाटर २०–८ को स्पष्ट अग्रतासहित आफ्नो पकड जमायो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गर्दै १९–१४ ले जिते पनि हाफ टाइमसम्म स्कोर टाइम्सको पक्षमा ३४–२७ रह्यो ।

तेस्रो क्वाटरमा टाइम्सले फेरि लय समाउँदै २६–२१ को जीत निकालेपछि अन्तिम क्वाटर अघि ६०–४८ को अग्रता बनाएको थियो । चौथो क्वाटर रोमाञ्चक बनेको थियो । गोल्डेनगेटले २४–२० ले क्वाटर जित्दै फर्कने संकेत दिए पनि टाइम्सले समग्रमा ८ अंकको अग्रता जोगाउँदै उपाधि कब्जा गर्‍यो ।

लिग चरणमा यी दुई टिमले एकअर्कालाई एक–एक पटक हराएका थिए । यस फाइनल भिडन्तमा भने टाइम्सले निर्णायक जित निकालेको हो ।

टाइम्सले उपाधिसँगै ट्रफी तथा नगद दुई लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता गोल्डेनगेटले एक लाख तथा तेस्रो स्थान हासिल गर्ने हाउण्ड्स एकेडेमीले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) हाउण्ड्सका विजय बुर्जा घोषित भए ।

यसअघि तेस्रो स्थानका लागि हाउण्ड्स र कीर्तिपुरबीच भएको प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्सले ८०–७५ को जित निकालेको थियो । पहिलो क्वाटर २२–१३ ले हाउण्ड्सले जिते पनि दोस्रो र तेस्रो क्वाटरमा कीर्तिपुरले २२–१९ र २२–२० को जीत निकाल्यो । तर चौथो क्वाटरमा १९–१८ को नतिजासँगै हाउण्ड्सले समग्र खेल जित्यो ।

फाइनल अघि आयोजित रमाइलो प्रदर्शनी खेलमा ईन्ट्रपेनर टिमले सेलिब्रेटी टिमलाई २३–२१ ले हराएको थियो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा र हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको यो प्रतियोगितामा कुल ६ टिम सहभागी थिए ।

पहिलो पटक विकेण्ड अवधारणामा आयोजना गरिएको यस लिगलाई डबल राउन्ड रोबिन फर्म्याटमा सम्पन्न गरिएको थियो । नेबा अध्यक्ष भीमसिंह गुरुङले पहिलो संस्करण सफल भएको भन्दै आगामी संस्करणलाई अझ व्यवस्थित र स्तरीय बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्