
काठमाडौं, असार ७ गते ।
लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा शनिबारदेखि मनमैजुस्थित घरेलु कोर्टमा सुरु भएको प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ब्वाइज तथा गल्र्स दुवै समूहमा आठ टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।
ब्वाइजतर्फ आयोजक एलएनए ‘ए’ ले क्यान्भास बसन्त ऋतुलाई १२–१० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। अन्य खेलमा लाखेले एलएनए ‘बी’ लाई १७–१२, मनास्लुले टीबीसी ‘बी’ लाई २१–१५ र यक्कुले बलस हुडलाई १८–१६ ले पराजित गरे। सेमिफाइनलमा एलएनए ‘ए’ को सामना लाखेसँग र मनास्लु यक्कुसँग भिड्नेछ।
गल्र्सतर्फ एनसीसीएस ‘ए’ ले बलर्सलाई १२–१०, ल्यान्डमार्कले एनसीसीएस ‘बी’ लाई ११–९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०–८ र वारियरले न्यु एरालाई १८–१२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे। अब एनसीसीएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन तार्केश्वर नगरपालिका वडा नम्बर १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल तथा नगर प्याब्सन अध्यक्ष गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई बल हस्तान्तरण गरेर संयुक्त रूपमा गरेका थिए।
दुईदिने प्रतियोगितामा ब्वाइज समूहमा १२ टिम र गल्र्स समूहमा ८ टिम सहभागी छन्। दुबै समूहका विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, फाइनलमा पुग्ने चारै टिमका खेलाडीलाई एलएनएमा प्लस टु अध्ययन गर्न चाहने भए छात्रवृत्तिको सुविधा समेत प्रदान गरिने आयोजकले जनाएको छ।





