प्रशासन तथा लेखा तालिम बूढानीलकण्ठमा सुरु



काठमाडौं, असार ७ गते ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दुईदिने प्रशासन तथा लेखा सम्बन्धी तालिम शनिबारदेखि काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको छ।
तालिमको उद्घाटन खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले एक विशेष समारोहका बीच गरेका हुन्। उनले विभिन्न क्षेत्रका विज्ञहरुको सहभागितामा समय समयमा यस्ता तालिमको आयोजना हुनु आवश्यक रहेको उल्लेख गरे।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यालयको प्रशासनिक कार्य सहज बनाउन तालिम सहयोगी हुने विश्वास व्यक्त गरे। उनले राखेपमा तीन दिनभित्र फाइलको निष्कर्ष निकाल्ने अभ्यास, फाइल ट्रयाकिङ प्रणालीको सुरुआत तथा पौडी पोखरीमा इ-टिकट प्रणाली लागू गरिएको जानकारी समेत दिए।

तालिममा जम्मा ५४ जना कर्मचारी सहभागी छन्। सहभागीहरुलाई खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले योजना निर्माण तथा सार्वजनिक खरिद प्रक्रिया, उपसचिव जगदीश पराजुलीले वित्तीय व्यवस्थापन र भ्रष्टाचार नियन्त्रणका विषयमा प्रशिक्षण दिए।

त्यस्तै, महालेखा परिक्षक कार्यालयका नायब महालेखा परिक्षक शंकरप्रसाद पन्थी र निर्देशक केदारप्रसाद खकुरेलले आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षण, अन्तिम परीक्षण, बेरुजु तथा फछ्र्यौटका बारेमा जानकारी गराए। महालेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट सिस्टम (PAMS) सम्बन्धी पक्षहरू प्रस्तुत गरे।

तालिमको दोस्रो तथा अन्तिम दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक विष्णुहरि वाग्लेले लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्