
श्रीलंकाको कोलम्बोमा सम्पन्न बिली जिन किङ कप टेनिस प्रतियोगितामा नेपालले शुक्रबार पाँचौं स्थान हासिल गरेको छ। ‘प्लेअफ’ खेलमा नेपालले ताजिकिस्तानलाई २–१ को अन्तरले पराजित गर्दै पाँचौं स्थान पक्का गरेको टिम अफिसियल अजय विष्टले जानकारी दिए। पराजित ताजिकिस्तान छैटौं स्थानमा रह्यो।
पहिलो सिंगल्स खेलमा ताजिकिस्तानकी सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई पहिलो सेटमा ७–५ ले पछि पारिन्। त्यसपछि स्वस्तिका चोटका कारण खेलबाट बाहिरिइन् (रिटायर्ड हर्ट)। दोस्रो सिंगल्समा नेपालकी सुनिरा थापाले अनिशा याख्येभालाई ७–५, ६–२ को सोझो सेटमा पराजित गर्दै खेल बराबरी गराइन्। डबल्समा सुनिरा थापा र अभिलाषा विष्टको जोडीले सुमाया र साइयोरा राजाबलिभाको जोडीलाई ६–३, ६–१ ले सहजै हराउँदै नेपाललाई जित दिलाए।
नेपालले यस प्रतियोगितामा कुल तीन खेल जितेको छ। समूह चरणमा नेपालले म्यान्मारलाई २–१ तथा कतारलाई ३–० ले हराएको थियो भने श्रीलंकासँग ३–० को हार व्यहोरेको थियो। नेपाल समूह ‘बी’ मा थियो।
ग्रुप ३ अन्तर्गत सम्पन्न प्रतियोगितामा नेपालसहित सात देश सहभागी थिए। अन्तिम नतिजाअनुसार श्रीलंका पहिलो, तुर्कमेनिस्तान दोस्रो, म्यान्मार तेस्रो, पाकिस्तान चौथो, नेपाल पाँचौं, ताजिकिस्तान छैटौं र कतार सातौं स्थानमा रहे। पहिलो स्थान हासिल गरेको श्रीलंकाले अब ग्रुप २ मा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको छ, किनकि प्रतियोगिताको नियमअनुसार विजेता टिमले नै माथिल्लो समूहमा उक्लने व्यवस्था छ।





