बुटवलमा दशौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु



बुटवल, असार ७

नेपाल हाप्किडो संघको आयोजनामा दशौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि आचार्यले नेपालमा हाप्किडोको विकास र विस्तारका लागि राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, संघीय संरचनामा खेलकुद विस्तार गर्ने सन्दर्भमा हाप्किडोले देखाएको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले उद्घाटन समारोहमा हाप्किडो खेलसँगै शिक्षामा पनि खेलाडीहरूको सक्रियता जरुरी रहेको बताए। समारोहमा राखेप बोर्ड सदस्य हिमालकुमार श्रेष्ठ, संघका उपाध्यक्ष देवबहादुर कुवँर, महासचिव इन्द्रबहादुर महरा, उपमहासचिव मोहम्मद समिर हुलवाई, सचिव टिकाराम घर्ती मगर, सदस्यहरू खिम पुन मगर र राजेन्द्र मडै, प्रशिक्षक प्रविण गुरुङ र रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठलगायतको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन संघकी कोषाध्यक्ष विजयाकुमारी वाइवाले गरिन् भने अध्यक्ष कालीबहादुर घर्ती मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।

प्राविधिक संयोजक तथा मुख्य प्रशिक्षक प्रविण गुरुङका अनुसार प्रतियोगितामा सातवटै प्रदेशका करिब ५०० खेलाडी सहभागी छन्। प्रतियोगितामा ७२ वटा विधामा प्रतिस्पर्धा हुनेछ, जसमा उमेर, तौल तथा बेल्टको आधारमा खेलाडीहरूलाई वर्गीकरण गरिएको छ।

दुईदिने प्रतियोगिताबाट रुपन्देही जिल्लाको हाप्किडो खेलमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्