सुकुटेमा पहिलोपटक बागमती महिला बिच रग्बी प्रतियोगिता असार ८ र ९ गते



सिन्धुपाल्चोक, असार ७ – नेपाल रग्बी संघको आयोजनामा र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा पहिलो पटक बागमती महिला बिच रग्बी प्रतियोगिता हुन लागेको छ। प्रतियोगिता असार ८ र ९ गते (आइतबार र सोमबार) सिन्धुपाल्चोकको प्रसिद्ध सुकुटे बिचमा आयोजना गरिनेछ।

रग्बी संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको हो। बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुन लागेको यो प्रतियोगितामा कुल ६ टोलीको सहभागिता रहनेछ।

प्रतिस्पर्धी टोलीहरूमा कर्णाली, मधेश र बागमती प्रदेशका प्रतिनिधि टोलीसँगै गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र स्थानीय सिन्धुपाल्चोक रग्बी क्लब रहेका छन्। हरेक टोलीमा ६ खेलाडी रहने र एक खेलमा ५ खेलाडी मात्र मैदानमा उत्रन पाउने प्रावधान तय गरिएको छ।

प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनमा करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। साथै, “ए ट्राइ, ए ट्री” अभियान अन्तर्गत प्रतियोगितामा प्रत्येक ट्राइ (स्कोर) गर्दा एकवटा बिरुवा रोपिनेछ। यस अभियानबारे जानकारी दिंदै महिला विभाग प्रमुख एलिसा थापाले रग्बीमार्फत वातावरण संरक्षणमा योगदान दिने उद्देश्य रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्