काठमाडौंमा पहिलो एलएनए एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि



काठमाडौं, असार ७

गुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा पहिलोपटक ‘एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता’ शनिबारदेखि सुरु हुँदैछ। दुईदिने प्रतियोगिता काठमाडौंको मनमैजुस्थित एलएनएको कोर्टमा हुनेछ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले प्रतियोगितामा जम्मा २० टोलीको सहभागिता रहने जानकारी दिए। तीमध्ये ब्वाइजतर्फ १२ र गल्सतर्फ ८ टोली रहने छन्।

एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार ब्वाइज टोलीलाई ४ समूह र गल्स टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट फर्म्याटमा खेल संचालन गरिनेछ। समूह चरणमा पहिलो दिन मात्र २० वटा खेल हुनेछन्।

प्रतियोगितामा ब्वाइज तथा गल्स दुबै समूहका विजेता टोलीलाई नगद ८ हजार रुपैयाँ र उपविजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, फाइनलमा पुग्ने सबै चार टोलीलाई एलएनएमा प्लस टु तहको अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ।

करिब १ लाख ५० हजार रुपैयाँ खर्चमा प्रतियोगिता सञ्चालन हुने अनुमान गरिएको छ। एलएनएले यस प्रतियोगितालाई माध्यम बनाई खेलकुदमा सक्रिय विद्यार्थीलाई शैक्षिक अवसर समेत प्रदान गर्ने उद्देश्य राखेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्