
पोखरा, असार ६ ।
गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ। पोखरा रंगशालामा बिहीबार सम्पन्न फाइनल खेलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो। नवलपुरका लागि रिजन काफ्लेले २५, दीपक डुम्रेले १९ र अपराजित पौडेलले १८ रन बनाए। स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे र म्यान अफ द म्याच घोषित भए। सुजन गौतम, अश्वनी राना र प्रदीप पाण्डेले पनि समान १–१ विकेट लिए।
१३० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको स्याङ्जाले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। स्याङ्जाका इश्वर क्षेत्रीले ६ चौकासहित आक्रामक ३० रन बनाए भने सुजन गौतमले २८, सन्दीप खत्री क्षेत्रीले १४, अनिश ताम्राकारले ११ र अश्वनी रानाले १३ रनको योगदान दिए। नवलपुरका लागि हिमाल न्यौपाने र कप्तान कमल परियारले समान २–२ विकेट लिए। दीपक डुम्रे र सुदीप अर्यालले १–१ विकेट लिए।
विजेता स्याङ्जाले ट्रफीसहित नगद रु १ लाख प्राप्त गर्यो भने उपविजेता नवलपुरले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो।
जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता थियो। प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ तथा ‘वेस्ट ब्याटर’ दुवै उपाधि स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले जिते। उनले ट्रफीसहित नगद रु ४ हजार प्राप्त गरे। वेस्ट बलरको उपाधि पर्वतका अमृत गुरूङले तथा उदियमान खेलाडीको रुपमा तनहुँका वंश क्षेत्रीले जनही नगद रु २–२ हजार प्राप्त गरे।
प्रतियोगिता गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा तथा गण्डकी प्रदेश खेलकुद परिषदको प्रवद्र्धनमा सम्पन्न भएको हो। समापन समारोहमा परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, संयोजक ऋषीराम गौतम, संघका सचिव सुमनराज कार्की, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङ लगायतले विजेता टोली तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे।





