
काठमाडौं, असार ५ ।
खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने विषयमा बिहीवार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक उक्त कार्यक्रममा सरोकारवालाबीच विगतको तुलनामा अझ प्रभावकारी ढंगले युवाको सशक्तिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, पूर्व राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा, एसियाली खेलकुदमा करातेतर्फ रजत पदक विजेता एरिका गुरुङ, बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव झलकराम अधिकारी, र लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन खेलकुद पत्रकार प्रकाश तिमल्सिनाले गरेका थिए।
क्रिकेट कप्तान इन्दुले शिक्षाले खेलाडीलाई आत्मविश्वासी बनाउने बताउँदै, “खेलले मात्र होइन, शिक्षाले पनि हरेक परिस्थितिमा आत्मबल दिन्छ,” भनिन्। फुटबलबाट सन्न्यास लिएका विक्रम लामाले सक्रिय खेल जीवनमै भविष्यको योजना बनाउनुपर्नेमा जोड दिंदै, “खेलाडीले आम्दानीको उचित व्यवस्थापन गरेर सन्न्यासपछिको जीवन सजिलो बनाउन सक्छ,” भने। हाल थ्री स्टार क्लबको व्यवस्थापनमा आबद्ध विक्रमले नेपालमा खेलकुदबाट जीविकोपार्जन गर्ने सम्भावना बढ्दै गएको बताए।
कराते खेलाडी एरिका गुरुङले खेलकुद र शिक्षाको सन्तुलन सम्भव भएको अनुभव सुनाउँदै भनिन्, “पढाइलाई समय दिन सकिन्न भन्ने बहाना मात्रै हो। दिनमा २/३ घन्टा पर्याप्त हुन्छ।”
युवा तथा खेलकुद मन्त्रालयका सचिव अधिकारीले मन्त्रालय खेलकर्मीहरूसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै, “खेलकुद नीतिमा सरोकारवालाको सुझाव समावेश गर्दै अन्तिम रुप दिइदैछ,” भने। साथै उनले खेल जीवनपछि उद्यमशीलता र स्वरोजगारमा सघाउने योजनाका लागि छलफल सुरु भइसकेको जानकारी दिए।
लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल शर्माले आफ्नो संस्थाले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राख्दै ३५ प्रशिक्षक नियुक्त गरेको उल्लेख गरे। संस्थागत सहकार्यका लागि पनि आफूहरू तयार रहेको बताए।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका थिए। उनले मन्त्रालयले माग गरेअनुसारको बजेट प्राप्त नभएकोप्रति असन्तोष व्यक्त गरे। परिषद् सदस्य सचिव दीपक लामाले यस्ता कार्यक्रमले खेलकुद नीतिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रम संयोजक दीपक श्रेष्ठले सम्मेलनले खेलाडीको व्यक्तिगत विकाससँगै मन्त्रालयलाई समस्या बुझ्न मद्दत पुग्ने अपेक्षा व्यक्त गरे। मन्त्रालयले गत महिना पहिलोपटक बागमती स्पोर्टस अवार्ड आयोजना गरिसकेको छ।
कार्यक्रममा अडियो–भिजुअल प्रस्तुतीमार्फत पछिल्ला १० महिनाका उपलब्धि र आगामी योजनाको जानकारी दिइयो। सचिव अधिकारीले आगामी आर्थिक वर्षका योजनालाई बुँदागत रुपमा प्रस्तुत गरे।
नेपाल फेन्सिङ संघका महासचिव सुग्जनलाल श्रेष्ठले खेलकुदमा निष्पक्षता कायम राख्न मिलेमतो र हेरफेर रोक्ने प्रयासबारे प्रस्तुति दिए।
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले सम्मेलन सफल र प्रभावकारी भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। मन्त्रालयले भविष्यमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा ‘मिसन २०२६’ को तयारीमा रहेका खेलाडीसहित १ सयभन्दा बढी खेलकर्मी र सरोकारवालाको सहभागिता थियो।





