बिलि जिन किङ कपमा नेपाल पराजित, अब प्लेअफमा ताजाकिस्तानसँग भिड्ने



काठमाडौँ, असार ५ – श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपाल समूह चरणको अन्तिम खेलमा पराजित भएको छ। समूह ‘बी’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाललाई आयोजक श्रीलंकाले ३–० को फराकिलो अन्तरले पराजित गर्‍यो।

सिंगल्स खेलमा श्रीलंकाकी अकिसा हिरुन्दी सिल्भा दियुनुगेले नेपालकी शिभाली गुरुङलाई ७–६, ७–६ को सेटमा हराइन्। त्यसैगरी, दिनारा डि सिल्भाले अभिलाषा विष्टलाई ६–४, ६–२ को सेटमा पराजित गरिन्। डबल्सतर्फ तुभिनी डि अल्भिस र जयविराको जोडीले शिभाली र अभिलाषाको जोडीलाई ६–४, १–६, १०–६ को सेटमा हराउँदै श्रीलंकाले क्लीन स्वीप गर्‍यो।

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा म्यान्मारलाई २–१ तथा दोस्रो खेलमा कतारलाई ३–० ले पराजित गरेको थियो। समूह चरणबाट अघि बढ्न असफल नेपाल अब पाँचौँ स्थानका लागि प्लेअफ खेलमा ताजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्