गोकर्णेश्वरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न



काठमाडौं, असार ५ —
नेपाल ओलम्पियन्स एसोसिएसनले बुधबार गोकर्णेश्वरस्थित ड्याफोडिल पब्लिक स्कुलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा ओलम्पियन खेलाडीहरूले विद्यार्थीहरूसँग आफ्नो अनुभव साटेका थिए।

कार्यक्रममा नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष तथा तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव एवं जुडोकी देवु थापा, एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी थिए। उनीहरूले आफ्नो खेल यात्रा, सामना गरेका चुनौतीहरू, संघर्षका अनुभव र सफलता प्राप्तिको कथा विद्यार्थीहरूसँग साझा गरे।

ओलम्पियन विष्टले अनुशासन, समर्पण र दृढ संकल्प नै खेलकुदमा सफलता प्राप्त गर्ने मूल मन्त्र भएको बताए। उनले चोटपटक र संघर्षबाट नआत्तिन विद्यार्थीलाई आग्रह गरे। जुडोकी देवु थापाले खेलकुदले आफूलाई मानसिक तथा शारीरिक रूपमा बलियो बनाएको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि अडिग रहेर अघि बढ्नुपर्ने सन्देश दिइन्।

एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले शिक्षा र खेलबीच सन्तुलन कायम गर्न विद्यार्थीलाई सुझाव दिँदै, रुचि अनुसार समय व्यवस्थापन गर्न सकिने धारणा राखिन्। ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले परिवारको साथ र आत्मसमर्पणको भावना भएकै कारण आफू ओलम्पिकसम्म पुग्न सफल भएको बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले ओलम्पिकबारे विभिन्न जिज्ञासा राख्दै ओलम्पियनहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाए।

यस वर्षको लागि यो तेस्रो स्कुल टु ओलम्पिक कार्यक्रम हो। यसअघि भक्तपुरको सैनिक आवासीय महाविद्यालय र काभ्रेपलाञ्चोकको नेपाल पुलिस स्कुलमा कार्यक्रम सम्पन्न भइसकेको छ।
‘स्कुल टु ओलम्पिक’ अभियान २०७८ सालको चैतमा सुर्खेतबाट सुरु भएको हो। अहिलेसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका १९ स्थानमा कार्यक्रम सम्पन्न भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्