
नेपालगन्ज, असार ४
अन्तरालको आयोजनामा नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ। दुई दिनसम्म चल्ने फेस्टिभलको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का संघीय सांसद किशोर राठौरले ‘वर्ष तस्बिर’ घोषणा गरी सोही तस्बिरको फोटो खिचेर गरेका हुन्।


राठौरले नेपालगन्जमा यस्ता सृजनात्मक गतिविधि हुनु गौरवको विषय भएको बताउँदै यस्ता कार्यक्रमले देशको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने धारणा राखे। उनले आगामी वर्षहरूमा पनि फेस्टिभलका लागि पूर्ण सहयोग रहने बताए। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगरले पनि फेस्टिभलप्रति आफ्नो समर्थन र निरन्तर सहयोग रहने प्रतिबद्धता जनाइन्।
फेस्टिभलअन्तर्गत आयोजित नेसनल फोटो कन्टेस्ट नेपाल २०८१ मा नौ विधामा दुई हजार एक सयभन्दा बढी फोटो प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट १११ फोटोहरू प्रदर्शनीमा राखिएका छन्। प्रतियोगिता डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्पोर्ट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाइल्ड लाइफ र न्यूज विधामा सञ्चालन गरिएको थियो।
‘वर्ष तस्बिर’को रूपमा आर्यन धिमालले खिचेको जाजरकोट भूकम्पपछि भत्किएको घरअगाडि रुँदै गरेकी महिलाको तस्बिर चयन गरिएको छ। अन्य विधागत विजेताहरू यसप्रकार छन्:
- एग्रीकल्चर: बबी साई
- कल्चर: सञ्जय महर्जन
- डेली लाइफ: विजय थापा
- टुरिजम, नेचर एन्ड कन्जरभेसन: रोमिन थारु
- स्पोर्ट्स: तिलक गहामगर
- नेपाल स्माईल: जीवन लामा
- वाइल्ड लाइफ: विनय रावल
- टुरिजम: मनोज पौडेल
- न्यूज: बरम बुढा
यस वर्षदेखि पिपुल्स च्वाइस अवार्ड पनि सुरु गरिएको छ, जसमा आम दर्शकले मनपर्ने तस्बिरमा भोट दिन सक्नेछन्। ई–सेवाको सहकार्यमा सञ्चालित यो विधामा असार ५ गतेसम्म भोटिङ गर्न सकिनेछ।
प्रतियोगिताका विजेता छनोटमा वरिष्ठ फोटो पत्रकार तथा पूर्व फोटो पत्रकार क्लब अध्यक्ष विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र वरिष्ठ फोटो पत्रकार केशवराज थोकर सम्मिलित निर्णायक टोलीले मूल्यांकन गरेका थिए।
फेस्टिभल नेपालगन्जको होटल सिटी प्यालेसमा आयोजना गरिएको हो। फोटोग्राफी र फोटो पत्रकारितासम्बन्धी छलफल तथा तालिम पनि फेस्टिभलअन्तर्गत सञ्चालन गरिएको आयोजक संस्था अन्तराल का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए।
फोटोकन्टेस्टका प्रत्येक विधाका विजेताले नगद ५ हजार रुपैयाँ र वर्ष तस्बिर तथा पिपुल्स च्वाइस अवार्ड विजेताले जनही ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन्। सबै पुरस्कारहरू फेस्टिभलको समापन समारोहमा प्रदान गरिनेछ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा सुरु भएको फेस्टिभललाई नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायत विभिन्न निकायले सहयोग गरेका छन्।









