
काठमाडौं, असार ४ गते
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले उत्कृष्ट प्रदर्शन गर्दै एकल अग्रता बनाएका छन्।
तीन राउन्डपछि राहुलले समग्रमा १६–अन्डर २ सयको स्कोरसहित अग्रस्थानमा रहेका छन्। उनले आजको राउन्डमा ६–अन्डर ६६ को कार्ड पेश गर्दै साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। सुबाशले आज बोगी रहित ५–अन्डर ६७ को प्रदर्शन गरेपछि समग्रमा १५–अन्डर २ सय १ स्कोरमा छन्।
तेस्रो स्थानमा एमेच्योर सदभाव आचार्य रहेका छन्। उनले आज ५–अन्डर ६७ स्कोर गरेपछि समग्र स्कोर १३–अन्डर २ सय ३ रहेको छ। ११–अन्डर २ सय ५ को स्कोरसहित निरज तामाङ र भुवन नगरकोटी संयुक्त चौथो स्थानमा छन्। भुवनले आजकै दिनको सर्वश्रेष्ठ ८–अन्डर ६४ स्कोर गरे भने निरजले ४–अन्डर ६८ मा खेल समाप्त गरे।
भुटानका निम दोर्जी तामाङ ८–अन्डर २ सय ८ स्कोरसहित छैटौं स्थानमा छन् भने एमेच्योरतर्फ तेस्रो स्थानमा परेका छन्। दिनेश प्रजापति ७–अन्डर २ सय ९ स्कोरसहित सातौं स्थानमा छन्, उनले आज ४–अन्डर ६८ को नतिजा निकाले।
३–अन्डर २ सय १३ स्कोरसहित शुक्रबहादुर राई, सञ्जय लामा र रबि खड्का संयुक्त आठौं स्थानमा छन्। शुक्रले ३–अन्डर ६९, सञ्जयले २–अन्डर ७० र रबिले १–अन्डर ७१ स्कोर गरे।
आजको प्रदर्शन विवरण:
- राहुल विश्वकर्माले फ्रन्ट नाइनमा बोगी रहित ५ बर्डीसहित ५–अन्डर ३१ स्कोर गरे। ब्याक नाइनमा १ बोगी र २ बर्डीसहित १–अन्डर ३५ स्कोर बनाए।
- सुबाश तामाङले तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डी गर्दै फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा २–अन्डर ३४ पूरा गरे।
- सदभाव आचार्यले फ्रन्ट नाइनमा चार बर्डीसहित ४–अन्डर ३२ बनाए। ब्याक नाइनमा ११औं होलमा डबल बोगीपछि १२औं होलमा इगल र १८औंमा बर्डी गर्दै १–अन्डर ३५ जोडे।
पुरस्कार विवरण:
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख रुपैयाँ नगद पुरस्कार राखिएको छ। यसमध्ये:
- विजेताले ३ लाख रुपैयाँ,
- दोस्रो स्थानले १ लाख ८५ हजार,
- तेस्रोले १ लाख २५ हजार,
- चौथोले १ लाख ५ हजार र
- पाँचौं स्थानले ९२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
शीर्ष २१ भित्रका सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारका हकदार हुनेछन्।
प्रो–एम प्रतियोगिता शनिबार:
चार दिने प्रतियोगिता सकिएपछि असार ७ गते शनिबार ‘प्रो–एम’ प्रतियोगिता हुनेछ, जसमा २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले सहभागिता जनाउनेछन्।





