उर्लाबारीमा ‘मातृत्व जोगाउने अभियान’ सुरु, एक हजार महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य



उर्लाबारी, असार १ ।
उर्लाबारी नगरपालिकामा ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सी–क्याप क्याम्प सुरु गरिएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानमा एक हजारभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिने लक्ष्य लिइएको छ।

कल्प इम्पावर वेमेन नेपालको पहल, उर्लाबारी नगरपालिकाको आयोजना र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन भएको अभियानको औपचारिक शुभारम्भ असार १ गते उर्लाबारी–९ स्थित महाराजथानको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गरिएको हो।

शुभारम्भ समारोहमा मिस नेपाल २००५ सुगारिका केसीको विशेष उपस्थिति रहँदा कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख मीना खतिवडा पौडेलले गर्नुभयो। प्रमुख अतिथि नगरप्रमुख गंगाप्रसाद खरेल रहनुभएको कार्यक्रममा महिला स्वास्थ्यका सवालमा व्यापक चेतना फैलाउने आवश्यकतामा जोड दिइयो।

कार्यक्रममा बोल्दै मिस नेपाल केसीले महिलाको स्वास्थ्य समस्यालाई समाज, परिवार र राज्यले साझा रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो। नगरप्रमुख खरेलले पाठेघरको क्यान्सर महिलाहरूको ठूलो समस्या भएको र समयमै परीक्षण नगरे गम्भीरता बढ्ने बताउँदै नियमित जाँच गराउन आग्रह गर्नुभयो।

सी–क्याप क्याम्पको पहिलो दिन वडा नम्बर ९ मा १५६ जना र दोस्रो दिन ८८ जना महिलाको परीक्षण गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले जानकारी दिनुभयो। अभियान आगामी ९ दिनसम्म सञ्चालन हुने र एक हजारभन्दा बढी महिलाको परीक्षण गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो।

शुभारम्भ कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो।

नगर उपप्रमुख मीना खतिवडा पौडेल ‘शी लिड्स आइकन’को पहिलो संस्करणमा सम्मानित २७ प्रेरणादायी महिला जनप्रतिनिधिमध्ये एक हुनुहुन्छ। उहाँले महिला स्वास्थ्य सशक्तीकरणका विषयमा जनचेतना फैलाउन यस अभियानले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्