
काठमाडौं, असार ३ ।
काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल काता स्पर्धामा कीर्तिपुरकी एलिना थिङ र तार्केश्वरकी प्रसन्न फुयाल मंगलबार फाइनलमा प्रवेश गरेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न सेमिफाइनलमा एलिनाले नागर्जुनकी बन्दना तामाङलाई र प्रसन्नले काठमाडौं-२६ की मिस्टी श्रेष्ठलाई पराजित गरे।

उक्त स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
महिला टिम कुमुते स्पर्धामा काठमाडौं–३१, तार्केश्वर र नागर्जुन सेमिफाइनलमा पुगेका छन्। काठमाडौं–३१ र तार्केश्वरबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने गोकर्णेश्वर र काठमाडौं–१६ बीचको क्वाटरफाइनल विजेताले सेमिफाइनलमा नागर्जुनको सामना गर्नेछ। कुमुते स्पर्धाका शीर्ष विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
महिलाको मात्र दुई स्पर्धा रहेको प्रतियोगितामा ८० खेलाडी सहभागी छन्। प्रतियोगिता बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ।





