
काठमाडौं, असार २
दाङको अल्फा तेक्वान्दो डोजाङले पहिलो पटक आयोजित ‘एनटीए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिप’ को उपाधि जितेको छ। सोमबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न फाइनलमा अल्फाले टिम चितवनलाई ४८–३४ को स्पष्ट अन्तरले पराजित गर्दै जुनियर पुरुष तर्फको उपाधि आफ्नो पोल्टामा पार्यो।
अल्फाका वसन्त विष्ट, कमल परियार र कमल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै चितवनका कृष्ण विक, रोनक राउत र सौगात सुन्दासमाथि जित दिलाए। प्रतियोगितामा टिम धादिङ र टिम तारकेश्वरले तेस्रो स्थान प्राप्त गरे।
जुनियर महिलातर्फ टिम तारकेश्वर च्याम्पियन बन्यो। प्रतिस्पर्धात्मक फाइनल खेलमा तारकेश्वरले फेयरलेस डोजाङलाई ७१–६२ ले हरायो। विजेता टिमबाट सपना रिखाम, कृतिका थापामगर र सोनिया तामाङले प्रतिनिधित्व गरेका थिए भने फेयरलेस डोजाङबाट अनिशा मगर, लक्ष्मी तामाङ र सृष्टि लामाले खेलिन्। यस स्पर्धामा यानसु डोजाङ र गोर्खाली डोजाङले तेस्रो स्थान प्राप्त गरे।
क्याडेट पुरुषतर्फ ढल्को डोजाङले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई पराजित गर्दै उपाधि जित्यो। नेपाल टाइगर्स र सीतापाइला डोजाङ तेस्रो स्थानमा रहे। क्याडेट महिलातर्फ भने राइजिङ फाइटर्सले उपाधि जित्न सफल भयो।
प्रतियोगिताका विजेता टिमलाई ५० हजार रुपैयाँ र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स बब्लु सिवाकोटीले जानकारी दिए। संघका अध्यक्ष प्रकाशशम्शेर राणाले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरे।
नेपाल तेक्वान्दो संघले पहिलो पटक विश्व तेक्वान्दोको नियमअनुसार ग्योरोगी विधामा मात्र आधारित टिम च्याम्पियनसिप आयोजना गरेको हो। प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट ब्वाइज र गल्र्स तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर ब्वाइज र गल्र्स गरी चार विधामा प्रतिस्पर्धा भएको थियो।





