सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन रवि खड्काको अग्रता



काठमाडौं, असार २

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशी रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा रवि खड्काले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएका छन्।

रविले ५–अन्डर ६७ को स्कोर गर्दै डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। सुबाश ४–अन्डर ६८ को स्कोरसहित दोस्रो स्थानमा रहे। ३–अन्डर ६९ स्कोर गरेका एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रोफेसनल खेलाडी भुवन नगरकोटी र धन बहादुर थापा तेस्रो स्थानमा छन्।

पूर्व नम्बर एक गल्फर रविले छैटौंदेखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा समाप्त गरे। ब्याक नाइनमा १३औं होलमा बर्डी र १२औं र १७औं होलमा सट बचाएर १–अन्डर ३५ मा पुरा गरे।

सुबाशले फ्रन्ट नाइन १–ओभर ३७ मा खेलेपनि ब्याक नाइनमा तीन बर्डी र एक इगलसहित उत्कृष्ट पुनरागमन गरे।

एमेच्योर वर्गमा भुटानका निम दोर्जी र नेपालका राहुल विश्वकर्मा ३–अन्डर ६९ स्कोरसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। निमले दुई इगलसहित फ्रन्ट नाइन ३–अन्डर ३३ मा खेले भने ब्याक नाइन इभन–पार ३६ मा सकाए। राहुलले पाँच बर्डी र दुई बोगीसहित फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २–अन्डर ३४ मा खेले। वाङ्चेन ढोन्डुपले १–अन्डर ७१ स्कोरसहित नवौं स्थानमा छन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फर र १८ जना एमेच्योर प्रतिस्पर्धी सहभागी छन्। कुल १६ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्नेछ भने दोस्रोले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार, र पाँचौंले ९२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ स्थानमा पर्ने सबै खेलाडीले नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम स्पर्धा आयोजना हुनेछ, जसमा २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्