
काठमाडौं, असार २
काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिस प्रतियोगितामा कीर्तिपुरका जयस्नु महर्जन र काठमाडौं–२६ का अर्नव श्रेष्ठले आ–आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न फाइनल खेलमा जयस्नुले यु–१६ ब्वाइज सिंगल्सतर्फ काठमाडौं–२ का उज्ज्वल मानन्धरलाई ६–११, ११–४, ११–४, ११–८ को सेटमा पराजित गरे। सोही स्पर्धामा कीर्तिपुरका सफल महर्जन र काठमाडौं–२६ का आर्यन शाहीले कांस्य पदक प्राप्त गरे।
यु–१४ ब्वाइज सिंगल्सको उपाधि भने काठमाडौं–२६ का अर्नव श्रेष्ठले जिते। उनले काठमाडौं–१ का निश्चल थापालाई रोमाञ्चक सेटमा ११–२, ९–११, ११–७, ५–११, १२–१० ले पराजित गरे। काठमाडौं–१७ का निरभ महर्जन र काठमाडौं–२६ का शम्भुराज वन्त तेश्रो भए।
भेट्रान ४० वर्षमाथिको पुरुष सिंगल्समा काठमाडौं–२ का उमेश मानन्धर च्याम्पियन बने। उनले फाइनलमा काठमाडौं–२६ का चन्दन शाहीलाई १३–११, ९–११, १२–१०, ११–७ ले हराए। कीर्तिपुरका सुधिर महर्जन र जयराम महर्जनले कांस्य पदक जिते।
प्रतियोगितामा जम्मा ८ स्पर्धा समावेश गरिएका थिए। यसअघि सम्पन्न अन्य स्पर्धाहरूमा यु–१६ गल्र्स सिंगल्सतर्फ काठमाडौं–१७ की प्राज्ना महर्जन, यु–१४ गल्र्स सिंगल्समा काठमाडौं–११ की अंशु खनाल, भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं–२९ की इन्दिरा पराजुली, यु–१२ ब्वाइज सिंगल्समा काठमाडौं–३० का कृतन श्रेष्ठ र यु–१२ गल्र्स सिंगल्समा काठमाडौं–१६ की यमिला श्रेष्ठले स्वर्ण पदक जितेका थिए।
प्रत्येक स्पर्धाका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारी, प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठ, टेबलटेनिस प्रशिक्षक मोहनदास बासुकलाल लगायतले एक विशेष समारोहबीच सम्मानित गरे।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा करिब १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।





