
काठमाडौं, असार २
दलित समुदायको आन्दोलनलाई एकीकृत गर्दै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यसहित ‘राष्ट्रिय दलित गोलमेच सम्मेलन’ सम्पन्न भएको छ। जेष्ठ ३० देखि असार १ गतेसम्म तीन दिन चलेको सम्मेलनले डा. निर्मल विश्वकर्माको नेतृत्वमा महाअभियानको घोषणा गर्दै विभिन्न राजनीतिक तथा सांगठनिक प्रस्तावहरु पारित गरेको छ।
सम्मेलनमा पारित दस्तावेजहरू सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो। कार्यक्रममा बोल्दै डा. विश्वकर्माले मुलुकमा अपेक्षित सामाजिक परिवर्तन नआएको बताउँदै दलित समुदायमाथि अझै पनि राज्यले विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाए।
उनले भने, “शासकहरूको नीति र नियत दुवै दलित समुदायप्रति सकारात्मक छैन। त्यसैले हामीले विभाजित आन्दोलनलाई एउटै धागोमा गाँस्न गोलमेच सम्मेलनको आयोजना गरेका हौं।”
डा. विश्वकर्माका अनुसार दलित समुदायमा वैचारिक एकता कायम गरी त्यसकै आधारमा एकीकृत आन्दोलन अगाडि बढाउने सम्मेलनको मूल उद्देश्य थियो, जुन सफल भएको बताए।
सम्मेलनले कुल ४२ बुँदाको संकल्प प्रस्ताव पारित गरेको छ। ती प्रस्तावका आधारमा अब दलित आन्दोलनमा नयाँ उभार आउने विश्वास व्यक्त गर्दै उनले ‘दलित मुक्ति’ को खाका निर्माण गरिएको जानकारी दिए। साथै, सम्मेलनमार्फत ‘सामुदायिक समाजवाद’ नामक नयाँ वैचारिक दर्शन पनि प्रतिपादन गरिएको उनले स्पष्ट पारे।





