
काठमाडौं, असार १
काठमाडौंको कुलेश्वरस्थित फलफूल बजार नजिकै शंका लाग्दा रोकिएको भारतीय नम्बर प्लेटको स्यान्ट्रो कार (UP78CB9835) बाट ठूलो मात्रामा लागुऔषध बरामद भएको छ । कार जाँच गर्दा खाली अक्सिजन सिलिन्डरभित्र लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित औषधि ट्रामाडोलसहित विभिन्न सामग्री फेला परेका छन् ।
२०७२ असार ३० गते राति करिब ९ बजे लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त कारलाई नियन्त्रणमा लिएको थियो । चेकजाँचका क्रममा गाडीको ढोका र डिक्कीमा लुकाइएको अवस्थामा ८२,९०० क्याप्सुल ट्रामाडोल, दुई थान मोबाइल, एक थान अक्सिजन सिलिन्डर, भारतीय स्यान्ट्रो कार तथा नगद ६५,००० रुपैयाँ बरामद गरिएको हो ।
यस घटनासँग सम्बन्धित रहेर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ:
- राजु मिजार, २६ वर्ष, स्थायी ठेगाना नुवाकोट, पञ्चकन्या गाउँपालिका–२, हाल काठमाडौं महानगरपालिका–१४, बल्खु
- मीना मगर, २४ वर्ष, हाल काठमाडौंमा बसोबास
पक्राउ परेका राजु मिजारको नाममा यसअघि पनि लागुऔषध सम्बन्धी तीनवटा मुद्दा दर्ता भएका थिए । उनीमाथि २०७८ मंसिर ३ गते लागुऔषध नियन्त्रण ब्यूरो, २०८१ असार ५ गते प्रहरी वृत्त जगाती भक्तपुर, र २०८१ साउन १ गते प्रहरी वृत्त थानकोट, काठमाडौंबाट मुद्दा चलाइएको अभिलेखमा उल्लेख छ ।
दुवै पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





