
काठमाडौं, असार २
गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ। विद्यालयमा आयोजित पदस्थापन कार्यक्रममा प्राज्नालाई नगद १५ हजारसहित सम्मान प्रदान गरिएको हो।
विद्यालयका कक्षा कप्तान तथा लिडर पदमा ७२ जना विद्यार्थीलाई नियुक्त गर्ने सो कार्यक्रममा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी प्राज्नाको सम्मान गरिएको हो। उनले यु–१५ गल्र्स डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन्।
गत बैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ५ कांस्य सहित १२ पदक जितेको थियो।
हाल प्राज्ना आरम्भ संस्कार विद्यालयमा कक्षा ६ मा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छिन्। विद्यालयले टेबलटेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गर्दै प्रतिभालाई प्रोत्साहन दिएको छ।
सम्मान कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, विद्यालयका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले प्राज्नालाई सम्मान गरेका थिए।





