सूर्य नेपाल प्रिमियर गल्फ सोमबारदेखि, १६ लाख रुपैयाँ राशीको प्रतिस्पर्धा




काठमाडौं, असार १

सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ सोमबारदेखि सुरु हुँदैछ। गोकर्ण गल्फ क्लबमा असार २ गतेदेखि ५ गतेसम्म चारदिने ७२ होलको यो प्रतिष्ठित स्पर्धामा ३८ जना प्रोफेसनल र १५ जना एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यका अनुसार, ३६ होलपछि कट प्रणाली लागू हुनेछ। शीर्ष २१ प्रोफेसनल र त्यस्तै स्कोर बनाउने एमेच्योर खेलाडीले अन्तिम दुई राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

१६ लाख रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ, दोस्रोले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं स्थान हासिल गर्नेले ९२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ भित्र परेका सबै खेलाडीले नगद पुरस्कार जित्नेछन्।

सिजनभरको प्रदर्शनमा आधारित अर्डर अफ मेरिट मा निरज तामाङ शीर्ष स्थानमा छन्। उनले यस सिजन तीन उपाधिसहित ७ लाख ४२ हजार ५ सय रुपैयाँ जितेका छन्। तोरण शाही दोस्रो र भुवन नगरकोटी तेस्रो स्थानमा छन्। भारतको गल्फ टुरमा सक्रिय रहेका शुक्रबहादुर राई र सुबास तामाङले पनि बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

एमेच्योरतर्फ यस सिजन उपाधि जितेका सदभाव आचार्य, राहुल विश्वकर्मा र भूटानका निम दोर्जी तामाङले प्रो खेलाडीहरूलाई टक्कर दिने अनुमान गरिएको छ।

प्रतियोगितापछि असार ७ गते (शनिबार) ‘प्रो-एम’ स्पर्धा हुनेछ, जसमा २५ प्रोफेसनल र १०० जना कर्पोरेट एमेच्योर खेलाडी सहभागी हुनेछन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्र मान श्रेष्ठले सूर्य नेपालको निरन्तर साथप्रति आभार व्यक्त गर्दै भने, “यो नेपाली गल्फ इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता हो। खेलाडीहरू यसलाई सफल बनाउने जोशमा छन्।”

प्रतिक्रिया दिनुहोस्