नेपाल तेक्वान्दो संघको विशेष साधारण सभा सम्पन्न, ऐतिहासिक टिम फाइट प्रतियोगिता सुरु



काठमाडौं, असार १

नेपाल तेक्वान्दो संघको विशेष साधारण सभा आज पहिलो पटक शारीरिक उपस्थितिका साथै भर्चुअल (हाइब्रिड) माध्यमबाट सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष प्रकाश शम्शेर राणाको अध्यक्षतामा सम्पन्न उक्त सभामा केन्द्र, प्रदेश र जिल्ला तहका अध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विशेष साधारण सभाको प्रमुख एजेन्डाका रूपमा संघको विधान संशोधन प्रस्ताव गरिएको थियो, जसलाई सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै, अन्य विविध विषयमा पनि सर्वसम्मत निर्णयहरू लिइएको संघले जनाएको छ।

सभापछि, सातदोबाटोस्थित ललितपुरको तेक्वान्दो हलमा दुई दिने राष्ट्रिय टिम फाइट प्रतियोगिताको उद्घाटन संघका अध्यक्ष राणाले गरे। नेपाली तेक्वान्दोको इतिहासमा पहिलोपटक टिम फाइट स्वरूपमा आयोजना गरिएको यस प्रतियोगितामा १२–१४ वर्ष उमेर समूहका क्याडेट तथा १५–१७ वर्ष उमेर समूहका जुनियर महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको छ।

प्रतियोगिता समूहगत रूपमा सञ्चालन हुँदैछ, जसमा हरेक समूहमा तीन खेलाडी रहने छन्। प्रत्येक खेलाडीले तीन–तीन मिनेटका दुई राउण्ड प्रतिस्पर्धा गर्नेछन्, र कुल ६ मिनेटको खेलमा प्राप्त अंकका आधारमा समूहको विजेता घोषणा गरिनेछ।

नेपालभरबाट आएका ६७ समूहले प्रतियोगितामा भाग लिएका छन्। विजेता समूहले नगद रु ५० हजार र दोस्रो हुने समूहले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि रु ३ लाख रहेको छ।

संघले आगामी दिनमा सिनियर उमेर समूहका खेलाडीहरूलाई लक्षित गर्दै यस्तै ढाँचाको टिम फाइट प्रतियोगिता आयोजना गर्ने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्