रुरुक्षेत्र गाउँपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाका लागि नागरिक पेन्सन योजना सुरु हुने



काठमाडौं, असार २ गते ।
नागरिक लगानी कोष र लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागी हुने स्वयमसेविकाको रकम सुरक्षित रहने र ६० वर्षपछि पेन्सन सुविधा प्राप्त हुने जानकारी दिएका छन्। साथै, उनले स्वआर्जनमा रहेका अन्य नागरिकहरूलाई समेत योजनामा सहभागी हुन आग्रह गरे।

गाउँपालिका अध्यक्ष ज्ञवालीले योजनामा स्थानीय बासीको सक्रिय सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

सम्झौता अनुसार रुरुक्षेत्र गाउँपालिकाबाट सञ्चालित महिला स्वास्थ्य स्वयमसेविका कल्याणकारी कोषमार्फत प्रत्येक स्वयमसेविकाबाट मासिक ८३० रुपैयाँ योगदान गरिनेछ। उक्त कोषमा जम्मा भएको रकम व्यक्तिगत खातामा रहनेछ भने कोष वा ऋण सम्बन्धी सुविधा पालिकाको सिफारिसमा मात्र उपलब्ध गराइनेछ।

पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार सहभागी स्वयमसेविकाहरूले जम्मा भएको रकम एकमुष्ठ वा पेन्सनको रूपमा प्राप्त गर्न सक्नेछन्। साथै, पाँच वर्षसम्म योजना जारी राखेपछि जम्मा रकमको ८० प्रतिशतसम्म सापटी लिन सकिने व्यवस्था कोषले गरेको छ।

यस सहकार्यबाट रुरुक्षेत्र गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरूको सामाजिक सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्