शारीरिक सुगठन टोलीलाई राखेपको सम्मान



काठमाडौं, असार १ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताबाट पदकसहित फर्किएको नेपाली टोलीलाई आइतबार स्वागत तथा सम्मान गरेको छ। त्रिपुरेश्वरस्थित राखेप परिसरमा आयोजित कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई सफलताप्रति बधाई दिंदै स्वागत गरे।

यसअघि, टोली आइतबार बिहान काठमाडौं आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थसहितका पदाधिकारी, प्रशिक्षक, खेलाडी, शुभचिन्तक र परिवारजनले हार्दिक स्वागत गरेका थिए।

भुटानको थिम्पुमा जेठ ३० र ३१ गते सम्पन्न प्रतियोगितामा सहभागी पाँच सदस्यीय नेपाली टोलीले १ स्वर्ण र ३ रजत पदक जित्न सफल भएको थियो।
महिला एथलेटिक फिजिकतर्फ उर्मिला श्रेष्ठले स्वर्ण जित्दै नेपाललाई गौरव दिलाइन् भने सोही विधामा शीला ठकुरीले रजत हात पारिन्।
पुरुष ५५ केजी तौलसमूहमा सरद सुवालले रजत जिते। त्यस्तै, पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. मुनी तर्फ अवतार श्रेष्ठले पनि रजत पदक ल्याए।
१७५ से.मी. माथिको स्पर्धामा प्रतिस्पर्धा गरेका प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे।

कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले नेपाललाई निरन्तर अन्तर्राष्ट्रिय पदक दिलाउँदै आएको उल्लेख गर्दै भने, “यो खेलको विशेषता भनेको खाली हात नफर्किने हो।”
महासंघका उपाध्यक्ष कायस्थले पनि प्रत्येक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीले पदक दिलाउँदै आएको स्मरण गरे।

प्रतियोगिता अफिसियल टोलीमा महासंघका सचिव दिनुशकुमार राजभण्डारी पनि सहभागी थिए। उनले २०२७ मा नेपालमा आयोजना हुने सम्भावित विश्व शारीरिक सुगठन च्याम्पियनसिपबारे भुटानमा प्रारम्भिक छलफल भएको जानकारी दिए।
टोलीसँगै व्यवस्थापक सुरेश सुवेदी, प्रशिक्षक रुजेश शाही, निर्णायक दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीहरू रमेश श्रेष्ठ र बालमुकुन्द अवाल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्