
पोखरा, जेठ ३१
विभागीय टोली एपीएफ क्लबले पहिलो संस्करणको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो।
एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्दै उपाधिसहित नगद ६ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता पुलिस क्लबले ३ लाख रुपैयाँमा सन्तोष मान्यो।
प्रतियोगिताको तेस्रो स्थान न्यु डायमण्ड स्पोर्ट्स क्लबले हासिल गर्यो। तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमण्डले एभरेस्टलाई २५–८, २५–१९ र २५–११ को सेटमा पराजित गर्दै १ लाख रुपैयाँ जित्यो।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित भइन्। उनले उत्कृष्ट प्रदर्शनका लागि ३० हजार रुपैयाँ प्राप्त गरिन्। निरुताको अलराउण्ड प्रदर्शनले एपीएफको उपाधि यात्रा सहज बनाएको थियो।
विधागत पुरस्कार विजेता:
उत्कृष्ट स्पाइकर: उषा भण्डारी (नेपाल पुलिस)
उत्कृष्ट ब्लकर: सुमित्रा रेग्मी (न्यु डायमण्ड)
उत्कृष्ट लिब्रो: शलिना श्रेष्ठ (न्यु डायमण्ड)
उत्कृष्ट सर्भर: श्रृष्टि खड्गी (एपीएफ)
उत्कृष्ट प्रशिक्षक: पुष्पजंग मल्ल (एपीएफ)
उपयुक्त विधागत विजेताहरूले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
समापन समारोहमा प्रमुख अतिथि शक्तिबहादुर बस्नेतसहित अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वाला, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरू अन्जन धमला, सम्राट कुशारीलगायतले विजेताहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
नेश्नल स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिता जेठ २७ गतेदेखि पोखरा रंगशालामा सुरु भएको थियो। प्रतियोगितामा राष्ट्रिय स्तरका ६ महिला भलिबल टिम सहभागी थिए। समापन अवसरमा आयोजक अध्यक्ष दीपक कोईरालाले आगामी संस्करणमा पुरुष टिम समेत समावेश गरी प्रतियोगिता अझ भव्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।





