प्राज्ना र अन्शुलाई स्वर्ण पदक



काठमाडौं, जेठ ३१
काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिस स्पर्धामा काठमाडौं महानगरपालिका–१७ की प्राज्ना महर्जन र वडा नं. ११ की अन्शु खनालले शनिबार स्वर्ण पदक जिते।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा प्राज्नाले यु–१६ गल्र्स सिंगल्समा कीर्तिपुर नगरपालिकाकी मिचुली महर्जनलाई लगातार तीन सेट (११–८, ११–८, ११–८) ले पराजित गर्दै च्याम्पियन भइन्। यस स्पर्धामा काठमाडौं–६ की विद्विसा मैनाली र तार्केश्वर नगरपालिकाकी श्रृष्टि बुढाथोकीले तेस्रो स्थान प्राप्त गरे।

त्यस्तै, यु–१४ गल्र्स सिंगल्समा अन्शुले तार्केश्वरकी स्मृति गुरुङलाई सोझो सेट (११–६, ११–३, ११–८) मा पराजित गर्दै उपाधि हात पारिन्। काठमाडौं–७ की परिधि बस्नेत र कीर्तिपुरकी डेजी महर्जनले तेस्रो स्थानमा चित्त बुझाए।

यु–१२ ब्वाइज सिंगल्समा काठमाडौं–३० का कृतन श्रेष्ठले काठमाडौं–२१ का सविक डंगोललाई ११–७, ८–११, ११–४, ११–४ ले हराउँदै स्वर्ण जिते। काठमाडौं–२५ का रेयान्श श्रेष्ठ र काठमाडौं–२६ का डानियल महर्जनले कांस्य पदक हात पारे।

यही उमेर समूहको गल्र्स सिंगल्समा काठमाडौं–१६ की यमिला श्रेष्ठले काठमाडौं–२६ की तारा तामाङलाई ११–५, ११–३, ११–३ ले पराजित गर्दै उपाधि जितिन्। सोही समूहका काठमाडौं–२६ की सदिक्षा तामाङ र नेरिशा तामाङले कांस्य पदक जिते।

प्रतियोगितामा आइतबारसम्म आठ विधामा जम्मा १ सय खेलाडीले सहभागिता जनाएका छन्। टेबलटेनिसतर्फको कुल पुरस्कार राशि १ लाख ६० हजार रुपैयाँ रहेको छ।

फुटसल, तेक्वान्दो, कराते र क्योकुसिन करातेसहित पाँच खेल समावेश रहेको जिल्लाव्यापी वृहत खेलकुदको औपचारिक उद्घाटन आइतबार लैनचौर मैदानमा हुनेछ। आयोजक काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीका अनुसार सम्पूर्ण प्रतियोगिताको पुरस्कार राशी ११ लाख ९० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्