निब्स कप बास्केटबलमा एचएचसीए र भ्याली पब्लिक ‘ए’ च्याम्पियन



काठमाडौं, जेठ ३१ गते ।
दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गल्र्सतर्फका च्याम्पियन बनेका छन्। शनिबार मण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को कोर्टमा सम्पन्न फाइनल खेलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ ले पराजित ग¥यो। एचएचसीएका सुशान्त बमजनले १०, डेविड राईले ६ र दिशान्त राईले ५ अंक जोडे। प्रशिक्षक सागर श्रेष्ठले टोलीको नेतृत्व गरेका थिए।

गल्र्स फाइनलमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–१५ ले हराउँदै उपाधि हात पार्‍यो। एलिना गौचनले ७, लोरिशा गौचनले ५, अनिता गुरुङले ४ र दृष्ना नेपालले २ अंक योगदान दिइन्। प्रशिक्षक पूर्ण न्यौपानेले टिम सम्हालेका थिए।

विजेता टोलीहरूले १० हजार रुपैयाँ र उपविजेताहरूले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। ब्वाइजतर्फ एचएचसीाका सुशान्त बमजन र गल्र्सतर्फ भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ (MVP) घोषित भए।

पुरस्कार वितरण समारोहमा बूढानीकलण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा नं. ८ का अध्यक्ष सुमन तामाङ, वडा नं. ९ की अध्यक्ष सुमित्रा त्रिपाठी, नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनु महतो, काठमाडौं प्याब्सनका सह–सचिव नारायण रोक्कालगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा ब्वाइज तर्फ २४ र गल्र्सतर्फ १२ टिमको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्