पोखरामा ‘छालाबाटो’ माथि परिचर्चा, लेखक रमेश भुसालको दृष्टि र अनुभव साझा



पोखरा । पोखरास्थित र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पत्रकार तथा लेखक रमेश भुसालको कृति ‘छालाबाटो’ माथि परिचर्चा आयोजना गरेको छ। कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको दस्तावेज प्रस्तुत गर्ने यो पुस्तकमाथिको छलफल सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार गर्दै आएको कार्यक्रम अन्तरगत गरिएको हो।

कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गरेका थिए भने कृतिमाथिको अवधारणापत्र साहित्यकार रोशन शेरचनले प्रस्तुत गरे। उनले पुस्तकले पाठकलाई शारीरिक मात्र होइन, मानसिक यात्राको पनि अनुभव दिन सक्ने बताए। लेखक भुसालले भने, कर्णालीको स्रोतदेखि तटीय बस्तीहरूसम्मको प्राकृतिक, सामाजिक र राजनीतिक अन्तरसम्बन्धलाई नियाल्दै पुस्तक तयार पारेको बताए।

रोशन शेरचनले पुस्तकमा भौगोलिक यात्रा मात्र नभई लेखकको अनुभूति र संवेदना प्रकट भएको उल्लेख गरे। उनले भने, “कर्णालीको भव्यता देख्दा लेखक प्रभावित हुन्छन् भने जलआश्रित आदिवासी महिलाको कठिन जीवन देख्दा गहिरो संवेदना प्रकट गर्छन्।” उनका अनुसार ‘छालाबाटो’ले र्‍याफ्टिङ संस्कृतिलाई सामाजिक र सांस्कृतिक सन्दर्भमा हेर्ने नयाँ दृष्टिकोण दिएको छ।

शेरचनले पुस्तकमा मुख्य कर्णालीलाई निर्बाध बग्न दिनुपर्ने सन्देश आएको उल्लेख गर्दै, वातावरणीय दृष्टिले आधारित नीति निर्माणको आवश्यकता औंल्याए। उनले थपे, “पढ्दा हाँसो र सहानुभूति एकसाथ उत्पन्न हुन्छ — जुन लेखकको विशेष शक्ति हो।”

लेखक रमेश भुसालले नेपालीहरू नदीसँग जीवन जोडिए पनि व्यवहारमा त्यसप्रति समर्पण नदेखिएको विषयले आफूलाई लेखनमा प्रेरित गरेको बताए। उनले हिमाल, नदी र जीवजन्तुको सहअस्तित्व र वातावरणीय सन्तुलनको पक्षमा पुस्तकमार्फत आवाज उठाएको बताए। “पहाड काट्न पैसा चाहिँदैन, तर जोड्न भने चाहिन्छ,” भन्दै उनले भौतिक विकासका नाममा हुने प्राकृतिक क्षतिप्रति चिन्ता व्यक्त गरे।

साहित्यकार सरुभक्तले पुस्तकलाई यात्रासंस्मरण मात्र नभई गहिरो अनुसन्धानमा आधारित लेखिएको महत्वपूर्ण कृति बताए। स्थलगत अध्ययनमा आधारित भएकाले पुस्तकले पाठकलाई लेखकसँगै यात्रा गराएको अनुभूति दिने उनले बताए। आख्यान र गैरआख्यानबीचको सिमाना मेटिएको जस्तो अनुभव दिलाउने भन्दै, उनले छालाबाटोलाई पर्यावरण संरक्षण र सामाजिक चेतनाका लागि सशक्त दस्तावेजको रूपमा प्रस्तुत गरे।

कार्यक्रममा सहसचिव दीपक पराजुली र पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले पनि आफ्ना विचार राखेका थिए। सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए।

र्‍यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयमाथि यस्तै किसिमको बहस गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्