
१३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला एकल फाइनलमा नेपालकी शीर्ष खेलाडी विपना ब्लोन र दोस्रो नम्बरकी स्वास्थानी श्रेष्ठबीच उपाधि भिडन्त हुने भएको छ।
बागमतीकी विपनाले सेमिफाइनलमा गण्डकीकी समीक्षा श्रेष्ठलाई ११–०, ११–४ र ११–३ ले सजिलै हराइन्।
स्वास्थानीले अस्मिता नगरकोटीलाई ११–३, ११–५ र ११–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरिन्।

यसअघि क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई, स्वास्थानीले रनसा महर्जनलाई, अस्मिताले साक्षी सुनुवारलाई र समीक्षाले नियुक्ती श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
पुरुषतर्फ अरहन्त केशर सिम्ह फाइनलमा
बागमतीका अरहन्त केशर सिम्ह पुरुष एकल फाइनलमा प्रवेश गरेका छन्। उनले सेमिफाइनलमा नैन बहादुर मगरलाई ११–२, ११–३, ११–४ ले सहजै हराएका थिए।
क्वाटरफाइनलमा उनले हेलिस श्रेष्ठलाई ११–६, ११–५, ११–५ ले हराएका थिए।
फाइनलमा अरहन्तको सामना दिपक थापा र पासाङ ब्लोनमध्ये एकसँग हुनेछ।
क्वाटरफाइनलमा दिपकले आभन श्रेष्ठलाई र पासाङले सुर्य कुमार राईलाई पराजित गरेका थिए।





