
काठमाडौं, जेठ ३०
राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो, कराते र कबड्डी स्पर्धामा बागमती प्रदेशले आफ्नो दबदबा जमाउँदै शीर्ष स्थान हासिल गरेको छ।

तेक्वान्दोमा बागमतीको वर्चस्व
सातदोबाटोस्थित तेक्वान्दो हलमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा बागमती प्रदेशले ७ स्वर्ण र ३ कांस्यसहित समग्र च्याम्पियन बनेको हो।
सुदूरपश्चिम प्रदेशले ३ स्वर्ण र ४ रजत जित्दै दोस्रो स्थान प्राप्त गर्यो। मधेश प्रदेशले १ स्वर्ण, २ रजत र ४ कांस्य हात पार्दै तेस्रो स्थानमा सन्तोष मान्यो।
१२ स्पर्धा भएको प्रतियोगितामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले जितेको थियो, जससँगै कर्णालीले १ रजत र ४ कांस्य पनि जोड्यो।
अन्तिम दिन दुई स्पर्धाको फाइनलमा बागमतीका किरण लामा (छात्र ५९ केजीमुनि) र समिक्षा लिम्बू (छात्रा ५२ केजीमुनि) ले क्रमशः लुम्बिनीका गणेश विक र निर्जला महतोलाई पराजित गर्दै स्वर्ण जिते।
करातेमा पनि बागमती च्याम्पियन
सातदोबाटोस्थित कराते हलमा सम्पन्न कराते प्रतियोगितामा पनि बागमतीले ७ स्वर्ण, १ रजत र २ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जित्यो।
लुम्बिनीले ३ स्वर्ण, १ रजत र ५ कांस्यसहित दोस्रो स्थानमा रहँदा मधेशले २ स्वर्ण र २ रजत जित्दै तेस्रो स्थान कब्जा गर्यो। प्रतियोगिता कुल १२ स्पर्धामा सम्पन्न भयो।
कबड्डीमा दोहोरो उपाधि बागमतीलाई
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न कबड्डी प्रतियोगितामा बागमतीले छात्र र छात्रा दुवै समूहमा उपाधि जित्दै दोहोरो सफलता हात पार्यो।
छात्र फाइनलमा बागमतीले लुम्बिनीलाई ४४–३० ले हरायो। कोशी र मधेश प्रदेशले तेस्रो स्थान बाँडे।
छात्रा फाइनलमा पनि बागमतीले लुम्बिनीलाई २९–२५ ले हराउँदै उपाधि कब्जा गर्यो। यसपटक कर्णाली र सुदूरपश्चिम तेस्रो बने।





