अनिशाद्वारा केशरीको १८ वर्ष पुरानो कीर्तिमान भंग, बागमती एथलेटिक्स र उसुमा च्याम्पियन



काठमाडौं, जेठ ३०

बागमती प्रदेशकी अनिशा थारुले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपल जम्प स्पर्धामा १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेकी छन्। उनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ११.२७ मिटरको फड्कोसहित २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरिन्। लुम्बिनीकी पिन्जु चौधरी दोस्रो र कर्णालीकी सरिता शाही तेस्रो भइन्।

शुक्रबार तीन नयाँ कीर्तिमान बने। छात्र ४x१०० मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको टोलीले ४३.४ सेकेन्डमा दूरी पूरा गर्दै लुम्बिनीको २०८० सालको ४४.०० सेकेन्डको कीर्तिमान तोड्यो। छात्रातर्फ बागमतीकी दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले ५१.९ सेकेन्डमा दूरी पार गर्दै लुम्बिनीको २०७९ सालको कीर्तिमान (५४.२ सेकेन्ड) भंग गरिन्।

तीनदिने प्रतियोगितामा जम्मा ९ कीर्तिमान कायम भए। यसअघि बागमतीका प्रवीण राना मगरले १०० मिटर दौडमा १०.७६ सेकेन्ड, सुदूरपश्चिमकी संगीता विकले छात्रा ४०० मिटरमा १ मिनेट ०१.१९ सेकेन्ड, गण्डकीकी नारायणी भण्डारीले ८०० मिटरमा २ मिनेट १७.९ सेकेन्ड तथा लुम्बिनीका राहुल थारुले छात्र ज्याभ्लिन थ्रोमा ५७.४० मिटर फाल्दै नयाँ कीर्तिमान बनाएका थिए।

४x४०० मिटर रिलेमा पनि बागमतीले दुबै तर्फ कीर्तिमान बनायो। छात्रतर्फ प्रवीण, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराईले, छात्रातर्फ दिना, अनिशा, भगवती र अस्मिता भुजेलले स्वर्ण जिते।

अन्य प्रमुख नतिजाहरू:

छात्र ट्रिपलजम्प: विकास बुढा (सुदूरपश्चिम) – १३.७३ मिटर, प्रथम

छात्र ३००० मिटर दौड: अनिल शाही (कर्णाली) – ९ मिनेट ०८.९ सेकेन्ड, प्रथम

छात्रा ३००० मिटर दौड: देवकी धामी (सुदूरपश्चिम) – १० मिनेट ५२.९ सेकेन्ड, प्रथम

छात्र २०० मिटर: प्रवीण राना मगर (बागमती) – २२.४ सेकेन्ड, प्रथम

छात्रा २०० मिटर: दिना गोपाली (बागमती) – २७.१ सेकेन्ड, प्रथम

बागमतीको दबदबा एथलेटिक्समा बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्यसहित समग्र च्याम्पियन बन्यो। प्रवीण राना मगर र अनिशा थारुले समान ४–४ स्वर्ण जिते। प्रवीणले १००, २००, ४x१०० र ४x४०० मिटर रिले जिते भने अनिशाले लङजम्प, ट्रिपलजम्प, ४x१०० र ४x४०० मिटर रिलेमा स्वर्ण र ४०० मिटर दौडमा रजत जितिन्।

सुदूरपश्चिमले ७ स्वर्ण, ७ रजत, ७ कांस्यसहित दोस्रो स्थान प्राप्त गर्‍यो। गण्डकीले ३ स्वर्ण, ५ रजत, ६ कांस्य जित्दै तेस्रो भयो। कर्णालीले ३ स्वर्ण, २ रजत, ५ कांस्य तथा लुम्बिनीले १ स्वर्ण, ५ रजत, ५ कांस्य जिते। कोशीले ३ रजत मात्र हात पार्दा मधेश पदकविहीन रह्यो।

उसुमा पनि बागमतीकै प्रभुत्व राष्ट्रपति रनिङ शिल्डअन्तर्गत उसुमा बागमती ८ स्वर्णसहित च्याम्पियन बन्यो। त्यसबाहेक बागमतीले २ रजत र १ कांस्य पनि जित्यो। सुदूरपश्चिमले ३ स्वर्ण, ७ रजत र २ कांस्यसहित दोस्रो, लुम्बिनीले १ स्वर्ण, २ कांस्यसहित तेस्रो स्थान हासिल गर्‍यो। अन्य चार प्रदेश भने स्वर्णविहीन बने।

अन्तिम दिनका मुख्य परिणामहरू

थाइची छ्वान छात्र: एनेक्स महर्जन (बागमती) – ६.४८ अंक, स्वर्ण

थाइची छ्वान छात्रा: सेरिना पराजुली (बागमती) – ६.७९ अंक, स्वर्ण

सान्सौं पुरुष ४२ केजी: प्रदीप विष्ट (लुम्बिनी)

पुरुष ४५ केजी: रोशन थापा मगर (बागमती)

पुरुष ४८ केजी: सुशान्त चौधरी (सुदूरपश्चिम)

महिला ४२, ४५, ४८ केजी: दीक्षा साउद, सिर्जना विक (सुदूरपश्चिम) र अनु मोक्तान (बागमती) क्रमशः विजेता

राष्ट्रपति रनिङ शिल्डले पुनः पुष्टि गर्‍यो — बागमती प्रदेश राष्ट्रिय खेलकुदको अग्रपंक्तिमा छ।

प्रतिक्रिया दिनुहोस्