
काठमाडौं,
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले लेखेको नयाँ देशभक्तिपूर्ण बालगीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक गरिएको छ।
राष्ट्रिय भावना, स्वाभिमान र सांस्कृतिक गौरव व्यक्त गर्ने उक्त गीतमा ‘नेपालकी छोरी हुँ म, यही हो मेरो घर’ जस्ता शब्दमार्फत गहिरो देशप्रेमको सन्देश दिइएको छ।
गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ भने बाल गायिका अनुजा कँडरियाले स्वर दिएकी छन्। भिडियोमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन्। भिडियोको छायांकन, सम्पादन र रङ संयोजन पवन सुस्लिङले गरेका हुन् भने निर्देशन किरन थापाको रहेको छ।
एआइजी कार्कीले गीत लेख्नुको उद्देश्य नयाँ पुस्तामा राष्ट्रप्रेमको भावना जगाउनु र नेपाली पहिचान झल्काउने सांस्कृतिक पोशाकप्रति गर्व महसुस गराउनु रहेको बताएका छन्।
उनले भने, “गुन्यु, चोली र पटुकी हाम्रो संस्कृति र भेषभूषाका महत्वपूर्ण पाटा हुन्। नयाँ पुस्ताले यी चिज बिर्सने खतरा भएकाले गीतमार्फत त्यो चेतना जगाउन खोजिएको हो।”
कार्कीले यसअघि प्रहरीको प्रवक्ता रहँदा ‘दसैँ–तिहार’ बोलको गीत लेखेर सार्वजनिक गरेका थिए, जसले पनि गहिरो सांस्कृतिक सन्देश दिएको थियो।
‘गुन्यु चोली पटुकी’ गीतले स्वाभिमान, एकता र संस्कृतिप्रति गर्वको सन्देश दिँदै देशभक्तिपूर्ण भावना उजागर गरेको छ।





