
मोरङ — पछिल्लो समय विराटनगर महानगरपालिका र आसपासका दक्षिणी क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएको सन्दर्भमा, मोरङको कटहरी गाउँपालिका–४ स्थित ‘राज मोबाइल केयर’ पसलमा चोरी भएको घटनामा संलग्न ३ जना पक्राउ परेका छन्।

२०७९।०१।११ गते राति पसल फुटाई ल्यापटप, विभिन्न ब्राण्डका एन्ड्रोइड तथा सादा मोबाइल सेटहरू, र मर्मतको लागि ल्याइएका मोबाइलहरू चोरी भएको निवेदन जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएको थियो। प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले पहिलो अभियुक्त मोरङको धनपालथान गाउँपालिका–७ का २२ वर्षीय विशाल कुमार सिंहलाई २०८२।०२।२७ गते पक्राउ गरेको हो।
प्रारम्भिक सोधपुछमा सिंहले चोरी भएका सामानहरू विराटनगर महानगरपालिका–११ स्थित २६ वर्षीय रोशन कुमार मण्डलको डेरामा लुकाइएको बताएका थिए। त्यसपछि प्रहरी टोलीले मण्डलको कोठामा छापा मारी, विभिन्न कम्पनीका नयाँ तथा पुराना मोबाइल सेटहरू, ल्यापटपको ब्याट्री, मोबाइलको डिस्प्ले तथा चोरीमा प्रयोग हुने उपकरणहरू फेला पारेको हो।
साथै, सोही डेरामा रहेका भारत अररिया जिल्लाका १८ वर्षीय कृष पासवानलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना विरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण: १. रोशन कुमार मण्डल (२६), मोरङ, विराटनगर–११
२. विशाल कुमार सिंह (२२), मोरङ, धनपालथान–७
३. कृष पासवान (१८), भारत, अररिया जिल्ला
बरामद सामग्रीको विवरण:
- सादा मोबाइल सेट: ८ वटा
- एन्ड्रोइड मोबाइल सेट: २१ वटा
- बिग्रिएका/टुटफुट भएका मोबाइल सेट: ५१ वटा
- ल्यापटप ब्याट्री: १ थान
- मोबाइल डिस्प्ले: १३ वटा
- चोरीमा प्रयोग हुने औजार (ड्रिल मेशिन, हथौडा, रड, पेचकस, पिलास आदि): ९ थान
प्रहरीले यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको छ।





