
काठमाडौं, जेठ ३०
नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले सरकारले शिक्षकसँग गरेका प्रतिबद्धता यथाशीघ्र पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाल शिक्षक संघद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले शिक्षा विधेयक असार १५ भित्र ल्याउने तयारी भइरहेको उल्लेख गर्दै शिक्षकहरूलाई ढुक्क रहन आग्रह गर्नुभयो। “पुरा गर्न नसक्ने सम्झौता गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “सरकारले शिक्षकसँग गरेका बाचा अवश्य पूरा गर्नुपर्छ।”
गुरुङले सरकारले आर्थिक अभाव देखाएर शिक्षकका जायज मागहरूबाट पछि हट्न नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “म बेला–बेला सुन्छु—देशको अर्थतन्त्रले शिक्षकका माग धान्न सक्दैन रे। सरकार यसरी खुम्चिएर बस्ने होइन, आर्थिक स्रोत सिर्जना गर्नुपर्छ।”
आफू मन्त्री हुँदा र संसदमा बारम्बार उठाउँदै आएको एक महत्वपूर्ण उपायको रूपमा उहाँले घरेलु मदिराबाट कर संकलन गरी त्यो रकम शिक्षा क्षेत्रमा प्रयोग गर्न सकिने प्रस्ताव गर्नुभयो।
“घरेलु मदिरा अहिले पनि व्यापक रूपमा प्रयोग भइरहेको छ,” गुरुङले भन्नुभयो, “त्यसलाई करको दायरामा ल्याउनुपर्छ। त्यसबाट उठेको राजस्व शिक्षा क्षेत्रमा खर्च गरौं। यसो गर्न सके मदिरा पनि व्यवस्थित हुन्छ, अनि शिक्षा क्षेत्रमा बजेट छैन भन्नुपर्ने अवस्था पनि रहँदैन।”





