
पोखरा, जेठ २९
एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्। समूह चरणको अन्तिम खेलमा दुवै टोलीले विजयी प्रदर्शन गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन्।
पोखरास्थित कभर्डहलमा बिहीबार एभरेस्टले गण्डकी प्रदेश भलिबल संघविरुद्ध पुनरागमन जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्यो। पहिलो सेटमा गण्डकीले २५–२१ ले अग्रता लिएपनि, त्यसपछि एभरेस्टले उत्कृष्ट प्रदर्शन गर्दै बाँकी तीन सेट २५–१४, २५–२२ र २५–१४ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो दिनको पहिलो खेलमा एपीएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। एपीएफको जितको क्रमशः स्कोर २५–६, २५–६ र २५–७ रह्यो।
अब शुक्रबार हुने सेमिफाइनल खेलमा पहिलो सेमिफाइनलमा पुलिस क्लब र एभरेस्ट भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा न्यु डायमण्ड र एपीएफ आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजक नेशनल स्पोर्ट्स एकेडेमीले जनाएको छ।





