एचजेबीएल: कीर्तिपुरले रोएललाई पराजित गर्दै प्लेअफमा स्थान पक्का




काठमाडौं, जेठ २९ गते।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बिहीबार सम्पन्न अन्तिम लिग खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोएल बास्केटबल क्लबलाई ९३–८७ ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको छ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा कीर्तिपुरले पहिलो क्वाटरमा २७–२२ को अग्रता बनायो। दोस्रो क्वाटरमा रोएलले २२–२१ अंक लिए पनि कीर्तिपुर हाफटाइमसम्म ४८–४४ ले अघि रह्यो। तेस्रो क्वाटरमा कीर्तिपुरले २७–२१ को स्कोरसहित अग्रता फराकिलो बनायो। चौथो तथा अन्तिम क्वाटरमा रोएलले २२–१८ अंक जोडे पनि कीर्तिपुरको जित रोक्न सकेन।

यो जितसँगै कीर्तिपुर लिगको चौथो स्थानमा उक्लिएको छ र अब तेस्रो स्थानको लागि प्लेअफमा हाउण्ड्स एकेडेमीसँग भिड्नेछ। फाइनलमा भने शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लब आमने–सामने हुनेछन्।

कीर्तिपुर र रोएल दुवैले १० खेलबाट १३–१३ अंक प्राप्त गरे पनि हेड–टु–हेड नतिजाका आधारमा कीर्तिपुर अघि रह्यो। लिगको पहिलो भेटमा रोएलले कीर्तिपुरलाई ९९–९६ ले पराजित गरेको थियो।

खेलमा कीर्तिपुरका निश्चल महर्जन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। सयुन राईले २६ अंकको योगदान दिए। रोएलतर्फबाट प्रसाङ मास्केले सर्वाधिक ३४ अंक स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन्।

नेपाल बास्केटबल संघका अनुसार फाइनल र तेस्रो स्थानका लागि प्लेअफ खेल आगामी असार ७ गते हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्