नेपाली टेनिस टोली श्रीलंका प्रस्थान



काठमाडौं, जेठ ३०

बिली जिन किङ कप टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली महिला टेनिस टोली शुक्रबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्दैछ। जुन १६ देखि २० सम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित ९ राष्ट्र सहभागी छन्।

नेपाल टोलीमा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्ट छन्। समूह ३ अन्तर्गत हुने प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जसमा पहिलो हुने टोली समूह २ मा प्रवेश गर्नेछ।

दुई सिंगल्स र एक डबल्स खेल हुने यो टिम स्पर्धामा अफिसियल अजय विष्ट र प्रशिक्षक कृष्णराज घले रहनेछन्। टिमलाई राखेप सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी सदस्य रञ्जना प्रधान, सदस्य हिमालकुमार श्रेष्ठ र नेपाल टेनिस संघका संयोजक मनोहरदास मुलले बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्