मधेशलाई यु–१४ क्रिकेट उपाधि



काठमाडौं, जेठ ३०

मधेश प्रदेशले यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत छात्र क्रिकेटतर्फको उपाधि जितेको छ। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा मधेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमै ४ विकेटको क्षतिमा पुरा गर्‍यो। मधेशका तर्फबाट ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रनको योगदान दिए। लुम्बिनीका सुरज यादव र कप्तान सन्दीप थापाले समान २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो। टोलीका आरोनजंग गिरीले अविजित २९ तथा जोन ओलीले ११ रन बनाए। मधेशका कृष्ण महतोले ३ विकेट लिँदा, कप्तान कमलेश दास र खिलराज सराफले २–२ विकेट र मोहम्मद ओजैफ अलीले १ विकेट लिए।

विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्