
काठमाडौं, जेठ २९ गते।
पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। प्रतियोगिताको एथलेटिक्सतर्फ अहिलेसम्म कुल ६ कीर्तिमान बनेका छन्।

दोस्रो दिन छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड, र छात्र/छात्राको ४x४ सय मिटर रिले स्पर्धामा कीर्तिमान बने। पहिलो दिन बागमतीका प्रवीण राना मगरले १ सय मिटर दौडमा र सुदूरपश्चिमकी संगीता विकले ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए।
दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारुले २७ वर्ष पुरानो ५५.५० मिटरको कीर्तिमान तोड्दै ५७.४० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान राखे। छात्रा ८ सय मिटरमा गण्डकीकी नारायणी भण्डारीले २ मिनेट १७.९ सेकेन्डमा दूरी पार गर्दै पुरानो कीर्तिमान तोडिन्।
छात्र ४x४ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले ३ मिनेट ३०.९ सेकेन्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान बनायो। यस्तै छात्रा ४x४ सय मिटर रिलेमा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलको टोलीले ४ मिनेट १२.८ सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान राखे।
अन्य नतिजाहरू यसप्रकार छन्:
छात्रा ज्याभ्लिन थ्रो: सुदूरपश्चिमकी पूजा साउद – स्वर्ण (३०.३२ मिटर), कोशीकी उर्मिला राई – रजत, बागमतीकी सिर्जना श्रेष्ठ – कांस्य।
छात्र ८ सय मिटर: सुदूरपश्चिमका विक्रम विष्ट – स्वर्ण (२ मिनेट ०२.७ सेकेन्ड), कर्णालीका धीरेन्द्र विक – रजत, लुम्बिनीका आयुश थारु – कांस्य।
छात्र लङजम्प: गण्डकीका प्रदीप महतो – स्वर्ण (६.६९ मिटर), सुदूरपश्चिमका विवेक चौधरी – रजत, बागमतीका दीपेन्द्र गिरी – कांस्य।
छात्रा लङजम्प: बागमतीकी अनिशा थारु – स्वर्ण (५.१८ मिटर), सुदूरपश्चिमकी पवित्रा चौधरी – रजत, रेनुका ऐर – कांस्य।
तेस्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।





