रु. २ करोड १ लाख भन्दा बढी मूल्य बराबरको सुन, हिरा तथा बहुमूल्य पत्थर सहित ४ जना पक्राउ



काठमाडौं, २०८२ जेठ २६

काठमाडौं महानगरपालिका–२२, प्युखा कृष्णचोकस्थित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ नामक सुनचाँदी पसलमा कानूनी बिल तथा दस्तावेजबिना बहुमूल्य गरगहना बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीको संयुक्त टोलीले छापा मारी ठूलो मात्रामा सुन, हिरा तथा बहुमूल्य पत्थर बरामद गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं, र प्रहरी वृत्त जनसेवा सहितको संयुक्त टोलीले १८:३० बजे सो पसलमा खानतलासी गर्दा बिलबिना राखिएका रु. २,०१,७८,३६० बराबरका गरगहना फेला पारिएका हुन्। उक्त पसल भारत, कलकत्ताका हबिबुल सेखले सञ्चालन गरिरहेका थिए।

प्रहरीले घटनास्थलबाट निम्न ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ:

  1. हबिबुल सेख, ४३ वर्ष, भारत कलकत्ता, हाल काठमाडौं–२२
  2. सूर्यजित दास, ३९ वर्ष, भारत कलकत्ता
  3. तमल साद्रा, ४० वर्ष, भारत कलकत्ता
  4. समिम सेख, १६ वर्ष, भारत कलकत्ता

बरामद गरिएका सामग्रीहरू:

प्रहरीले तौल र विवरणसहित ठूलो मात्रामा सुन, हिरा र बहुमूल्य पत्थरका विभिन्न प्रकारका गरगहना तथा कागजातहरू बरामद गरेको छ। तीमध्ये उल्लेखनीय केही वस्तुहरू निम्न छन्:

नेक्लेस, लकेट, रिङ, चुरा, कानको बाला, नाकको फुली लगायतका गरगहना (सयौं ग्राम)

विभिन्न ग्रेडका हिरा (जस्तै IJVSSI, SI2, VS2, GSI1, आदि)

नवरत्न लकेट चेन (२२ क्यारेट)

सुनका टुक्राहरू (१०० ग्रामभन्दा बढी)

विभिन्न बैंकका नगद भुक्तानीका रसिद, चेक तथा भौचरहरू (प्राइम कमर्सियल, एनसीसी, नेपाल SBI, पञ्जाब नेशनल, कुमारी, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट)

मुन्ना जेम एण्ड ज्वेलर्स र अन्य पसलका खरिद-बिक्री सम्बन्धी विल र नोटबुकहरू

iPhone 15 Pro Max मोबाइल थान-१

थप अनुसन्धानका लागि राजस्व विभागमा बुझाइयो

स्रोत नखुलेको, कानूनी विल नभएका र कर छलिएको आशंकामा प्रहरीद्वारा नियन्त्रणमा लिइएका सबै ४ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्