गोल्डेनगेटको एचजेबीएलमा नवौँ जित



२८ जेठ, काठमाडौं ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई ८२–५८ ले पराजित गर्दै उपाधि खेलको तयारी पूरा गरेको छ।

पहिल्यै फाइनल प्रवेश गरिसकेको गोल्डेनगेटले यो लिग चरणको लगातार नवौँ जित हो। छ टोली सहभागी डबल राउन्ड रोबिन आधारमा भएको लिगमा गोल्डेनगेटले १० मध्ये ९ खेल जित्दै १९ अंक जोड्यो। फाइनलमा उसले टाइम्स बास्केटबल क्लबसँग भिड्नेछ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले चारै क्वाटरमा सामाखुशीमाथि अग्रता लियो—१६–१४, २७–१६, २२–१५ र १७–१३।
गोल्डेनगेटका विकेट श्रेष्ठ ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए। उनले १४ अंक बनाए। सामाखुशीका प्रज्वल महर्जनले १७ अंक स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्