
काठमाडौं, जेठ २८ गते ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आयोजित १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै भव्य समारोहका साथ प्रतियोगिताको उद्घाटन गरे। त्यसपछि ओलम्पियन देवुसँगै भारोत्तोलनका कमलबहादुर अधिकारी, एथलेटिक्सकी सरस्वती चौधरी र पारा तेक्वान्दोका भरतसिंह महताले पालैपालो टर्च ट्रयाकमा परिक्रमा गराए।
उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले खेलकुदमार्फत असल नागरिक निर्माणमा टेवा पुग्ने बताए। विद्यालय तहबाटै खेलाडी छनोट गर्नु महत्त्वपूर्ण भएको उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्डले खेलाडी उत्पादनमा सशक्त भूमिका निर्वाह गर्ने बताए। साथै, नेपाल साहसिक खेलकुदका लागि उत्कृष्ट गन्तव्य भएकाले यस क्षेत्रमा राज्यको लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए।
उद्घाटन समारोहमा सातै प्रदेशका टोली, निर्णायक, विविध भेषभूषा तथा संस्कृति झल्काउने पहिरनसहित मार्च पास गरिएको थियो। कबड्डी खेलाडी सुदूरपश्चिमकी श्रृष्टि केसीले खेलाडीको तर्फबाट तथा कराते प्रशिक्षक प्रकाशमोहन धौबडेलले निर्णायकको तर्फबाट शपथ ग्रहण गरे।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता विद्यालय तहबाट खेलाडी पहिचान र प्रोत्साहनको उत्कृष्ट माध्यम भएको बताउँदै आगामी वर्षहरूमा अझ परिस्कृत ढंगले प्रतियोगिता सञ्चालन गरिने बताए।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गणतन्त्र स्थापनापछि ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर राष्ट्रपति रनिङ शिल्ड सुरु गरिएको स्मरण गरे। उनले प्रदेश टिम सहभागी गराउन योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे। सदस्य–सचिव घिसिङको कार्यकालमा यो चौथो पटक राष्ट्रपति रनिङ शिल्ड आयोजना भएको हो। १२औं संस्करणदेखि नै प्रतियोगिता नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
सात प्रदेशबाट ६८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्। प्रतियोगिता शुक्रबारसम्म चल्नेछ।





