पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा प्रवीण र संगीताको नयाँ कीर्तिमान



काठमाडौं, जेठ २८

पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स स्पर्धामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

प्रवीणले छात्र १०० मिटर दौड १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते। उनले २०७० सालमा आशिष चौधरीले बनाएको १०.९० सेकेन्डको कीर्तिमान तोडे। कोशी प्रदेशका सुजन मण्डल दोश्रो र लुम्बिनीका शुभम बमरेल तेश्रो भए।

संगीताले छात्रा ४०० मिटर दौड १ मिनेट ०१.१९ सेकेन्डमा समाप्त गर्दै स्वर्णसहित २०७६ सालमा अरुणा रिजालले बनाएको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरिन्। बागमतीकी अनिशा थारु दोश्रो र कर्णालीकी कृष्णा राना तेश्रो स्थानमा रहे।

कीर्तिमान बनाएकोमा प्रवीण र संगीताले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

अन्य प्रमुख नतिजा:

छात्रा १०० मिटर दौड: बागमतीकी दिना गोपाली (१२.८१ सेकेन्ड) पहिलो, लुम्बिनीकी आरुशी भट्टराई दोश्रो, गण्डकीकी अनुष्का अधिकारी तेश्रो।

छात्र ४०० मिटर दौड: कर्णालीका धीरेन्द्र विक (५१.८९ सेकेन्ड) पहिलो, गण्डकीका प्रकाश महतो दोश्रो, सुदूरपश्चिमका विक्रम विष्ट तेश्रो।

हाइजम्प (छात्र): बागमतीका अविनाश सुनार (१.६८ मिटर) पहिलो, सुदूरपश्चिमका उज्ज्वल कुमार विक दोश्रो, गण्डकीका विवेक महतो तेश्रो।

हाइजम्प (छात्रा): सुदूरपश्चिमकी सुस्मिता चौधरी (१.३८ मिटर) पहिलो, गण्डकीकी सविता खातुन मिया दोश्रो, कर्णालीकी हीरा बुढा तेश्रो।

सटपुट (छात्र): सुदूरपश्चिमका विवेक चौधरी (१३.६१ मिटर) पहिलो, लुम्बिनीका राजन भण्डारी दोश्रो, कर्णालीका केशव विक तेश्रो।

सटपुट (छात्रा): बागमतीकी एलिना विक (८.६९ मिटर) पहिलो, सुदूरपश्चिमकी पूजा साउद दोश्रो, लुम्बिनीकी सम्झना चौधरी तेश्रो।

१५०० मिटर दौड (छात्रा): गण्डकीकी नारायणी भण्डारी (५ मिनेट ०३.९ सेकेन्ड) पहिलो, बागमतीकी भगवती खड्का दोश्रो, सुदूरपश्चिमकी देवकी धामी तेश्रो।

यस प्रतियोगितामा २६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्