
नेपाल प्रहरीको डीएसपी भएको झुटो परिचय दिँदै प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने आश्वासन दिई नगद रु. ६,००,००० (छ लाख रुपैयाँ) ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पीडितको निवेदनका आधारमा प्रारम्भिक अनुसन्धानपछि ठगीमा संलग्न रहेको ठहर गर्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच (५) दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू:
- ज्ञान बहादुर लामा उर्फ ज्ञानु तामाङ — काभ्रेपलाञ्चोक जिल्ला, चौरी देउराली–८ का ४५ वर्षीय लामा पहिले पनि कैयौँ आपराधिक क्रियाकलापमा संलग्न भइसकेका छन्। मिति २०७०।११।२० मा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष कैद सजाय भुक्तान गरिसकेका उनी, मिति २०७०।०१।१६ मा केही सार्वजनिक अपराध र मिति २०६७।०७।०४ मा जुवा सम्बन्धी कसुरमा समेत मुद्दा भोगिसकेका छन्।
- रेवती ओझा — सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–४, पाचघरे घर भई हाल काठमाडौंको कलंकीमा बसोबास गर्ने ४२ वर्षीय ओझा पनि ठगी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।





