
काठमाडौं, जेठ २७
नेपालका प्रजातान्त्रिक आन्दोलनका महानायक वीर गणेशमान सिंहको स्मृतिमा पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस आगामी असार १४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ।
प्रतियोगिता दरबारमार्गबाट सुरु भई राजधानीका प्रमुख स्थान हुँदै पुनः दरबारमार्गमै समापन हुनेछ।
फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंहका अनुसार यस वर्षको दौडमा ४५० भन्दा बढी धावक सहभागी हुनेछन्।
महिला र पुरुष दुवैतर्फको खुला प्रतिस्पर्धामा विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
साथै, १० किलोमिटर कोर्स रेकर्ड तोड्ने धावकलाई थप १० हजार रुपैयाँ पुरस्कृत गरिनेछ।
संयोजक सन्जीव तुलाधरका अनुसार यो प्रतियोगिता अब अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना रहेको छ।





