
काठमाडौं, जेठ २७
१४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फुटसल खेलमा कृषि विकास बैंकले पुरुष र महिला दुवै टोली फाइनल प्रवेश गरेका छन्।
टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा कृषिले नेपाल वायुसेवा निगमलाई १–० ले पराजित गर्दै पुरुषतर्फ फाइनल यात्रा तय गर्यो, जहाँ अब उसको प्रतिस्पर्धा नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ सँग हुनेछ।
महिलातर्फ कृषिको टोलीले ५ टिम सहभागी राउन्ड रोबिन लिगमा १० अंक बटुल्दै शीर्ष स्थानमा रह्यो। अब उपाधिका लागि कृषि विकास बैंकले नेपाल बैंक लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ।
पुरुषतर्फ शीर्ष तीन स्थान प्राप्त टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने महिलातर्फ विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।





