
काठमाडौं, जेठ २७
मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका निश्चल तामाङ र उमेश महर्जनलाई मंगलबार नगद र प्रशंसा पत्रसहित सम्मान गरेको छ।
सेल्फ डिफेन्स तालिम दिन नेपाल आएका जर्मनीका प्रशिक्षकहरू ग्रान्ड मास्टर हान्स होहन, मास्टर जोर्ग टिम, र क्याथ्रिना श्रेङको बिदाइ समारोहका अवसरमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डगोंल र एनआरएनएका सल्लाहकार डा. देवकाजी डगोलले दुबै खेलाडीलाई जनही १०० अमेरिकी डलरसहित प्रशंसा पत्र प्रदान गरे।
निश्चलले सिक्किममा आयोजित उसु प्रो फाइटमा स्वर्ण पदक जितेका थिए भने उमेशले इन्डोनेसियाको भोभीनाम च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए।
सोही कार्यक्रममा उमेर हदका कारण हालै अनिवार्य अवकाश पाएका उसु प्रशिक्षक रामगोपाल महर्जनलाई पनि कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
जर्मन प्रशिक्षकहरूको एक साताको नेपाल बसाइका क्रममा १६५ प्रशिक्षार्थीलाई सेल्फ डिफेन्स तालिम दिइएको अध्यक्ष राजीव महर्जनले जानकारी दिए। प्रशिक्षक हान्सले विभिन्न क्वानका प्रमुख प्रशिक्षकलाई मायाको चिनोसमेत प्रदान गरेका थिए।





